काठमाडौँ । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँहरूमा रहेका संरचनालाई कोरोना सङ्क्रमितहरूको उपचारका लागि प्रयोगमा ल्याइएको थियो ।
अक्सिजन सिलिन्डर ल्याइँदै
चीनबाट अनुदानस्वरूप प्राप्त हुन लागेको २० हजार अक्सिजन सिलिन्डरमध्ये वैशाख ३१ गतेभित्र पहिलो लट ल्याउने गरी कार्ययोजना तयार पारिएको सहसचिव नेपालले जानकारी दिए । पहिलो खेपमा कति सङ्ख्यामा सिलिन्डर ल्याउने भन्नेबारे कार्ययोजनामा उल्लेख छैन । त्यसैगरी भारतबाट लिक्विड अक्सिजन आयातका लागि तुरुन्त कूटनीतिक पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।
अक्सिजन सिलिन्डर ल्याउने कामको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । नेपालमा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि चीनले अनुदानस्वरूप २० हजार अक्सिजन सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।
