प्रज्जवल थापा । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग(एनएसएल)को प्लेअफमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले पोखरा थन्डर्सलाई १-० गोलले पराजित गर्दै लिगमा तेस्रो जित दर्ता गरेको हो ।
धनगढीलाई जित दिलाउन दर्शन गुरुङले एक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दर्शनले दोस्रो हाफको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । खेलमा लगातार आक्रमण गरेपनि फिनिसिङमा चुक्दा पोखरा हार बेहोर्न बाध्य भयो ।
धनगढीले अब लिगमा एक खेल खेल्न बाँकी रहेको छ । उक्त खेलमा जस्तो नतिजा आएपनि धनगढी शीर्ष चारमा रहने पक्का भएको छ ।जितसँगै धनगढी ५ खेलबाट १० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित पोखरा समान खेलबाट ५ अङ्कको साथ पाँचौ स्थानमा यथावत छ ।
