प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज ग्रानाडाले क्याटलान क्लब बार्सिलोनालाई आफ्नो चुनौती पेश गर्दैछ । क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । बार्सिलोना आजको खेल जित्दै लिगको शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल बार्सिलोना ३२ खेलबाट ७१ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलको एथ्लेटिको म्याड्रिडको ७३ अङ्क रहेको छ । अप्रिल ११ मा रियल म्याड्रिडसँग पराजित भएयता बार्सिलोनाले आफ्नो तीन खेलमा स्पष्ट जित निकालेको छ ।
यता ग्रानाडापनि आजको खेलमा सकरात्मक नतिजाको अपेक्षामा रहेको छ । ग्रानाडा हाल ३२ खेलबाट ४२ अङ्क जोड्दै लिगको आठौं स्थानमा छ । ग्रानाडाले सन् २०१९ यता बार्सिलोनालाई हराउन सकेको छैन । दुई टोलीबिच भएको पछिल्लो १६ भेटमा १४ खेल बार्सिलोनाले जितेको छ भने २ खेल ग्रानाडाले आफ्नो पोल्टामा पारेको छ ।
