प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित निकालेको छ । मंगलबार बेलुकी भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्समाथि १ रनको जित निकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
जितको लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितको लागि १४ रन चाहिएको अवस्थामा कप्ताम ऋषभ पन्तले अन्तिम २ बलमा २ चौका प्रहार गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४८ बलमा ६ चौकाको मद्दतमा ५८ रन जोडे । यस्तै शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५३ रन जोड्दा मार्कुस स्टोइनिसले २२ र पृथ्व शहले २१ रनको योगदान गरे ।
बैंगलोरको लाहि हर्सल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । यस्तै मोहमद सिराज र क्यले जेमिसनको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले डि भिल्लियर्सको उत्कृष्ट प्रदर्शनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरको लागि भिल्लियर्सले ७५ रन जोडे । उनले ४२ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । राजत पतिडरले २२ बलमा २ छक्काको मद्दतमा ३१ रन जोड्दा ग्लेन म्याक्सवेलले २५ रन प्रहार गरे । यस्तै ओपनर देवदत्त पडिक्कलले १७, कप्तान विराट कोहलीले १२, वासिङटन सुन्दरले ६ र डानियल साम्सले ३ रनको योगदान गरे ।
दिल्लीको लागि इशान्त शर्मा, कागिसो रबडा, आभेश खान, अमित मिश्रा र अक्सर पटेलले १/१ विकेट लिए । जितसँगै बैंगलोर ६ खेलबाट १० अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित दिल्ली ८ अङ्कको साथ तेस्रो स्थानमा छ ।
