काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारी नियन्त्रणका प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार राति विज्ञप्ति जारी गरी वरिष्ठ नेता नेपालले नेपालगंज सहितका स्थानको स्वास्थ्य संकट तत्काल समाधान गर्न तीनै तहका सरकारहरू एवम् सरोकारवाला सबैको ध्यानाकर्षण गराएका हुन् । साथै नेता नेपालले महामारीको यस क्षणमा आवश्यक सावधानी एवम् सतर्कतासहित स्वयंसेवकीय भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
विज्ञप्ति भनिएको छ, ‘भविष्यमा आउनसक्ने भयावह अवस्थालाई नियन्त्रणमा लिन सरकारले तत्कालै थप जनशक्तिसहितको विशेष टोली निर्माण, सङ्क्रमण रोकथाम र गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन र जनताको जीवन रक्षाका निम्ति आवश्यक व्यवस्था गर्न आग्रह गर्दछु । नेपालगंजको जस्तो अवस्था देशका अन्य स्थानमा हुन नदिन अस्पतालहरुमा शैय्या थप्ने, अक्सिजन व्यवस्थापन गर्ने, सबै उमेर समूहका नागरिकलाई सहज रुपले शीघ्र खोप लगाउने व्यवस्था मिलाउन तथा कोभिड–१९ नियन्त्रण र उपचारमा संलग्न निकायहरुबीच समन्वय कायम गर्न हार्दिक अनुरोध गर्दछु । ’
यस्तो छ विज्ञप्ति
नेपालमा नयकका भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेश गरेको र दैनिक संक्रमण दर पनि तीव्र गतिमा बढिरहेको कुराले हामी सबैलाई चिन्तित तुल्याएको छ। सबैभन्दा पहिले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य सम्बन्धि निकायले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
नेपालगन्ज लगायतका शहरमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएर स्थिति नियन्त्रण बाहिर जान लाग्दा समेत संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा सरकारको उचित ध्यान नजानु र आफैले वनाएका मापदण्डहरू सरकार एवम् सरकारी पक्षबाट लगातार मिचिनु चिन्ताको बिषय हो । अतः नेपालगंजसहितका स्थानको स्वास्थ्य संकट तत्काल समाधान गर्न तीनै तहका सरकारहरू एवम् सरोकारवाला सवैको गम्भीर ध्यानाकर्षण गराउछु ।
महामारिको यस क्षणमा आवश्यक सावधानी एवम् सतर्कता सहित स्वयंसेवकीय भूमिका निर्वाह गर्न हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरू सहित सम्पूर्ण जनसमुदायमा विशेष अनुरोध गर्दछु ।
भविश्यमा आउनसक्ने भयावह अवस्थालाई नियन्त्रणमा लिन सरकारले तत्कालै थप जनशक्तिसहितको विशेष टोली निर्माण, सङ्क्रमण रोकथाम र गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन र जनताको जीवन रक्षाका निम्ति आवश्यक व्यवस्था गर्न आग्रह गर्दछु ।
नेपालगन्जको जस्तो अवस्था देशका अन्य स्थानमा हुन नदिन अस्पतालहरुमा शैय्या थप्ने, अक्सिजन व्यवस्थापन गर्ने, सबै उमेर समूहका नागरिकलाई सहज रुपले शीघ्र खोप लगाउने व्यवस्था मिलाउन तथा कोभिड–१९ नियन्त्रण र उपचारमा संलग्न निकायहरुबीच समन्वय कायम गर्न हार्दिक अनुरोध गर्दछु ।
मितिः २०७८/०१/१०