काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा प्रवेश गरेको अवस्थामा पनि पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणको अभियान निरन्तर अघि बढ्ने बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गरी महामन्त्री घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति पार्टीको विश्वास रहेको उल्लेख गर्दै अदालतका सबै कानुनी प्रक्रियाको सम्मान गर्ने बताएका हुन् । उनले कानुनी प्रक्रियाले आफ्नो बाटो लिने भएपनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनस्र्थापनाको अभियान नरोकिने बताएका हुन्।
वक्तव्यमा घिमिरेले नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा संकल्पबाट तय भएको दाबी गरेका छन् ।
उनले लोकतन्त्रमा असहमतिलाई स्वीकार गर्नुपर्ने भएपनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्न नहुने उल्लेख गरेका छन् । उनका अनुसार संवाद, संस्थागत प्रक्रिया र विधान लोकतान्त्रिक पार्टीका आधार हुन्, जबकि संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्छ।
महामन्त्री घिमिरेले अहिले नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प र अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा एकजुट हुन आह्वान गरेका छन्।
