काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई अवैध ठहर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले ‘स्टिङ अपरेशन’लाई अवैध ठहर गरेको हो ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुसमा दायर रिटमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो । उक्त रिटमा २०७४ पुस ७ गते पहिलो सुनुवाई भएको थियो । संवैधानिक इजलासले विपक्षीसँग स्टिङ अपरेशनका बारेमा कारण माग गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो ।
अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिमाथि पछिल्लो समयमा आफैं पैसा दिएर स्टिङ अपरेशन चलाउँदै आएको थियो। सोही अपरेशनका आधारमा उसले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गर्दै आएको थियो । सर्वोच्चको आदेशसँगै अब अख्तियारले ‘स्टिङ अपरेशन’ गर्न पाउनै छैन ।
