प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेलले नयाँ विश्व किर्तिमान बनाएका छन् । मंगलबार नेदरल्याण्ड्सविरुद्वको खेलमा अर्धशतक पुरा गर्दै कुशलले एकै खेलमा दुई किर्तिमान बनाएका हुन् ।
विश्व टि-२० आई क्रिकेटमा डेब्यु खेलपछि लगातार तेस्रो खेलमा अर्धशतक पुरा गर्ने कुशल पहिलो खेलाडी बनेका छन् । यसअघि इङ्ल्याण्डका डेभिड मलानले डेब्यु पश्चात लगातार दुई खेलमा अर्धशतक पुरा गरेका थिए । कुशलले मंगलबार नेदरल्याण्ड्सविरुद्व ६२ रनको अर्धशतकिय इनिङ्स खेल्दै उक्त रेकर्डलाई भङ्ग गरेका हुन् ।

यस्तै कुशल नेपाली क्रिकेटको ईतिहासमा लगातार तेस्रो खेलमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । यहि त्रिकोणात्मक सिरिजमार्फत नेपालको लागि डेब्यु गरेका कुशलले ३ खेलमा १ सय ८५ रन बनाइसकेका छन् । उनले नेदरल्याण्ड्सविरुद्व डेब्यु खेलमा ४६ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६२ रन जोडेका थिए ।
दोस्रो खेलमा मलेसियाविरुद्व ४१ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६१ रन जोडेका भुर्तेलले तेस्रो खेलमापनि ६२ रन जोडेका हुन् । उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
