प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।
मुम्बईमा भएको खेलमा १४८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाउदै लक्ष्य भट्टायो । खेलमा खराब शुरुवात गरेको रोयल्सको इनिङ्स मिल्लर र राहुल टेवाटियाले समालेका थिए । मिल्लरले अर्धसतकसहित ६२ रन जोडे । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै क्रिस मोरिसले १८ बलमा ४ छक्काको मद्दतमा ३६ रन जोड्दा राहुल टेवाटियाले १९ र उनाड्कन्तले ११ रनको योगदान गरे ।
दिल्लीको लागि आभेश खानले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर ३ विकेट लिँदा क्रिस वोक्स र कागिसो रबडाले समान २/२ विकेट लिए ।
यसअघि वानखेडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । दिल्लीको लागि कप्तान ऋषभ पन्त बाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । पन्तले ३२ बलमा ९ चौका सहित ५१ रन जोडे । यस्तै टोम कुरानले २१, ललित यादवले २० र क्रिस वोक्सले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।
राजस्थानको लागि जयदेव उनाडकन्तले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । यस्तै मुस्ताफिजुर रहमानले २ र क्रिस मोरिसले एक विकेट लिए ।
जितसँगै राजस्थान २ खेलमा २ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पराजित दिल्ली चौथो स्थानमा झरेको छ ।

