समर्थकको नजरमा ‘एल क्लासिको’

प्रज्जवल थापा । ‘एल क्लासिको’ शव्द सुन्ने बित्तिक्कै करोडौं फूटबल समर्थकको मनमा खुशी अथवा छुट्टै खालको तरङ्ग छाउने गर्छ । विश्व फूटबलका दुई ठुला स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाबिच हुने खेललाई ‘एल क्लासिको’ उपनाम दिइएको छ ।

आज स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा म्याड्रिड र बार्सिलोना आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । यस खेललाई लिएर विश्वभरमा फूटबल समर्थक उत्साहित छन् । ‘एल क्लासिको’ विश्वमा सबैभन्दा धेरै मनिसले हेर्ने खेलपनि हो । यसै सन्दर्भमा रहेर नेपाल समाजले रियल म्याड्रिड र बार्सिलोनाका समर्थकसँग अन्तरक्रिया गर्दा ‘एल क्लासिको’ को र आजको खेलको बारेमा उनिहरुको भनाइ यस्तो रहेको छ ।

“एल क्लासिको खेल भन्दापनि इमोसन हो । जसले हामीलाई हजारौं सम्झनालायक क्षणहरु, विभिन्न गोल, गोल सेलिब्रेसनहरु दिने गर्छ । फूटबलका दुई उत्कृष्ट क्लबबिचको प्रतिस्पर्धालाई विश्व खेलकुदको जगतमा एक ठूलो भिडन्त भन्दा फरक पर्नेछैन ।”
 – काजी न्यौपाने, रियल म्याड्रिड समर्थक, नेपाल(हाल अस्ट्रेलिया)

“मेरो नजरमा ‘एल क्लासिको’ क्लब फूटबलको सबैभन्दा ठूलो खेल हो । रोनाल्डो र मेस्सीले मात्र नभई दुई क्लबबिचको स्पर्धाले गर्दा यस खेल अन्य खेल भन्दा अगाडि रहेको हो ।”
 – सोहित श्रेष्ठ, बार्सिलोना समर्थक, तनहुँ

“एल क्लासिको एक खेलमात्र नभई पुरा फूटबल जगतलाई नै दुई भागमा बाड्ने महाउत्सव हो । पछिल्लो समय प्रमुख खेलाडीको इन्जुरीबिच राम्रो प्रदर्शन गरिराखेको म्याड्रिड आज हुने खेलमा ३ अङ्कको लागि खेल्नेछ । पछिल्लो दुई क्लासिकोमा जित हात पारेको म्याड्रिड आजको खेलमा उच्च महस्थितीको साथ मैदान उत्रिनेछ । घरेलु लिगको पछिल्लो १९ खेलमा अपराजित रहेको बार्सिलोना र उच्च फर्ममा रहेको म्यड्रिडबिचको खेल रोमाञ्चक हुनेमा म विश्वस्त छु ।”
  – मदन लम्साल, रियल म्याड्रिड फेन क्लब नेपाल, रिजनल हेड, पोखरा

“हाल हेर्ने हो भने दुवै टोली राम्रो फर्ममा रहेका छन् । च्यापियन्स लिगबाट बाहिरिसकेको बार्सिलोनाले घरेलु लिगमा राम्रो प्रदर्शन गरिराखेको छ । यता म्याड्रिडलेपनि गत मंगलबार भएको च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा लिभरपुललाई आफ्नो प्रमुख चार खेलाडीबिना पराजित गरेको थियो । त्यसैले आज हुने खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । आजको खेलमा दुवै टोली ३ अङ्कको लागि भिड्नेछन् । तर आजको खेलमा सबैको नजर भने बार्सिलोनाका कप्तान लियोनल मेस्सीमा हुनेछ । उनले सन् २०१८ यता क्लासिकोमा गोल गर्न सकेका छैनन् । त्यसैले मेस्सी आज क्लासिकोमा आफ्नो गोलको खडेरी तोड्ने लक्ष्यमा हुनेछन् ।”
– निर्भिक अधिकारी, बार्सिलोना समर्थक, काठमाडौं

दुई टोलीबिच भएको २ सय ४५ भेटमा ९७ खेल रियल म्याड्रिडले जितेको छ भने ९६ खेल बार्सिलोनाले आफ्नो पोल्टामा पारेको थियो । २ सय ४५ खेलमा रियल म्याड्रिडले ४ सय ८ गोल गर्दा बार्सिलोनाले ४ सय गोल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *