प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी शुरुवात गरेको छ । शुक्रबार बेलुकी भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।
चेन्नईमा भएको खेलमा १६० रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाउँदै लक्ष्य भेट्टायो । बैंग्लोरको लागि एबि डि भिल्लियर्सले बिष्पोटक ब्याटिङ गर्दै सार्वधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले २८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोड्दा कप्तान विराट कोहलीले २९ बलमा ४ चौकाको मद्दतमा ३३ रन जोडे । बैंग्लोरको लागि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभर बलिङ गर्दै २६ रन दिएर २ विकेट लिए । मार्को जान्सेनले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिँदा ट्रेन्ट बोल्ट र कुर्नाल पाण्ड्यले १/१ विकेट लिए ।
यसअघि चिदाम्बराम रंगशाला भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईको लागि क्रिस लेन र शुर्यकुमार यादव बाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर लेनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सार्वधिक ४९ रन जोडे । यस्तै शुर्यकुमार यादवले ३१ रन जोडे । उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै इशान किशानले २८, कप्तान रोहित शर्माले १९ र हार्दिक पाण्ड्यले १३ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

बैंग्लोरको लागि हर्शल पटेलले शानदार बलिङ गर्दै ५ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चिए । यस्तै क्येल जेमिसन र वासिङ्टन सुन्दरको नाममा एक/एक विकेट रह्यो । जितसँगै बैंग्लोरले आईपिएलको नयाँ सिजनमा सुखद शुरुवात गरेको छ । आज हुने खेलमा चेन्नई सुपर किङ्स र दिल्ली क्यालिटल्स भिड्नेछन् ।

