काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले दुईवटा छुट्टाछुुट्टै बधाई सन्देशमार्फत चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उनीहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेको छन् ।
गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् ।
पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल–चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उनले बताएका छन् ।
चीनले अघिसारेको एकक्षेत्र एकमार्ग (वेल्ट एण्ड रोड) परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य अंशले नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गरेका छन् ।
यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई पठाउनुभको बधाई सन्देशमा द्विपक्षीय सम्बन्ध विस्तारमा वाङले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरेका छन् । भविष्यमा नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गरेका छन् ।
त्यसैगरी विदेशमन्त्री वाङले विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन–नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति–समझदारीको कार्यान्वयनका निम्ति मन्त्री ज्ञवालीसँग सहकार्य गर्ने अभिलाषा सन्देशमा व्यक्त गरेका छन् ।