प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन ड्रि ब्रुयन र फिल फोडेनले एक/एक गोल गरे । डर्टमण्डको लागि मार्को रिउसले एक गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा महारेजको पासमा डि ब्रुयनले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए । ३७ औं मिनेटमा बेलिन्घामले सिटीका गोलकिपर एन्डर्सनबाट बल खोस्दै गोल गरेपनि फवल गरेको भन्दै रेफ्रीले गोल नदिँदा डर्टमण्डले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो ।

दोस्रो हाफको ८४ औं मिनेटमा हलान्डको पासमा रिउसले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । तर खेलको अन्तिम मिनेटमा गुन्डोगानको पासमा फोडेनले गोल गर्दै सिटीलाई २-१ गोलको जित दिलाए । जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबिचको दोस्रो लेग अप्रिल १४ मा डर्टमण्डको घरेलु मैदानमा हुनेछ । उक्त खेलको नतिजाले सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
