प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले इङ्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई र मार्को एसेन्सियोले एक गोल गरे । लिभरपुलको लागि मोहम्मद सलाहले गरेको गोल सान्त्वनामा सिमित रह्यो । पहिलो हाफको २७ औं मिनेटमा टोनी क्रुसको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ३६ औं मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

५१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६५ औं मिनेटमा मोड्रिकको पासमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको शानदार जित दिलाए । जितसँगै म्याड्रिड सेमिफाइनलको एक कदम नजिक पुगेको छ । दुई टोलीबिचको दोस्रो लेग अप्रिल १४ मा लिभरपुलको घरेलुु मैदान एनफिल्डमा हुनेछ ।

