प्रज्जवल थापा । तेस्रो इन्ट्रा म्याड्रिडष्टा फूटसल प्रतियोगिताको उपाधि घरेलु टोली टिम क्यासिलसले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा टिम क्यासिलसले रोयल ह्वाइट्सलाई २-० गोलले पराजित गरेको हो ।
पोखरा विन्दवासिनीस्थित टुटिसाल फूटसलमा भएको फाइनल खेलमा टिम क्यासिल्सलाई जित दिलाउन मदन श्रेष्ठले दुई गोल गरे । मदनले दुवै गोल खेलको अन्तिम समयमा गरेका थिए । जितसँगै क्यासिलसले ट्रफी, जर्सी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सिमित रोयल ह्वाइट्सलेपनि ट्रफी, जर्सी, मेडल र प्रमाण पत्र पायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रियल म्याड्रिड फेन क्लब नेपाल- नुवाकोटका सुरेश कुमार तामाङ घोषित भए । यस्तै इमर्जिङ प्लेयरको अवार्ड टिम क्यासिलसका मन्दिप तिमल्सिनाले पाए । रियल म्याड्रिड फेन क्लब नेपाल-पोखरा विङ्सद्वारा आयोजित प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

