सरकारलाई दिएको समर्थन फिर्ता गरे राजीनामा दिन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १६५ वटा सडक शिलान्यास शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा पटकपटक मागिएको भन्दै मागपिच्छे राजीनामा दिन नसक्ने बताएका हुन् । उनले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताए ।

उनले माओवादी केन्द्रलाई इंगित गर्दै समर्थन फिर्ता लिइदिन भनेको तर नलिएकाले आफूले राजीनामा नदिएको बताए । उनले भने, ‘ मेरो राजीनामा आज मागेको हो र ? माग्या माग्यै छन् राजीनामा । तर म कसरी मागै पिच्छे राजीनामा दिनु ? ए बाबा! हटाउन न त समर्थन फिर्ता लिइदेउ भन्छु लिँदैन ।’

उनले मेलम्चीको पानी काठमाडौंमा आएको समाचार अखबारले प्राथमिकतासाथ नछापेको भन्दै गुनासो गरे । उनले भने, ‘काठमाडौंमा राष्ट्रपतिले पानी वितरणको शुभारम्भ गर्नुभयो । तर समाचार छैन । तर प्रधानमन्त्रीको राजीनामा मागेको समाचार मुख्य समाचार बनाउँछ । उनीहरुको काठमाडौंमै संवाददाता रैनछन्।’

प्रधानमन्त्रीले ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने बताए । उनले भने, ‘सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ । ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।’ देशको आवश्यकता र संसदको गणित फरक पर्ने बताउँदै उनले आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । नेपाली कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । कांग्रेस केन्द्रीय समिति बैठकले ओलीलाई हटाएर आफ्नोे नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *