बिरामी बच्चाको उपचारको लागि रोनाल्डोले फालेको आर्मब्याण्ड अक्सनमा

प्रज्जवल थापा । पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मैदानमा फालेको कप्तानको आर्मब्याण्ड अक्सनमा राखिने भएको छ । उक्त आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि अक्सनमा राख्न लागिएको हो ।

गत शनिबार फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत सर्बियाविरुद्व भएको खेलमा रोनाल्डोले अतिरिक्त समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई मान्यता दिएनन् । सर्बियन डिफेन्डर स्टेफान मेट्रोभिकले गोललाईन पछाडिबाट उक्त बललाई क्लियर गरेका थिए । रिप्लेमा हेर्दा बलले गोल लाईन पार गरेको स्पष्ट देखिएको थियो । तर गोललाई मान्यता दिन गोललाईन प्रविधि थिएन । उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

गोल नदिएपछि सहायक रेफ्रीसँग आक्रमक भएका रोनाल्डोले पहेँलो कार्ड पाएका थिए । त्यसपश्चात आक्रोशित देखिएका रोनाल्डोले आफ्नो कप्तानको आर्मब्याण्ड फाल्दै खेल सकिनु भन्दा अगाडि नै मैदान छाडेका थिए । रोनाल्डोले मैदानमा फालेको आर्मब्याण्ड एक कामदारले उठाएका थिए र अहिले उक्त आर्मब्याण्ड अक्सनमा राखिएको छ ।

अक्सनमा राखिएको उक्त आर्मब्याण्डबाट उठेको रकम सर्बियाका ६ महिने शिशु गाव्रिल डुर्डेभिकको उपचारमा खर्च गरिनेछ । स्पिनल मस्कुलर स्ट्रोफी भएका ग्राव्रिलको उपचारको लागि २.५ मिलियन युरो लाग्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *