इङ्ल्याण्डमाथि भारतको शानदार जित

प्रज्जवल थापा । इङ्ल्याण्डविरुद्वको तेस्रो तथा अन्तिम एक दिवसीय खेल(ओडिआई) मा भारतले शानदार जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा भारतले इङ्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । यससँगै भारतले तीन खेलको ओडिआई सिरिज २-१ ले आफ्नो पोल्टामा पारेको छ ।

पुनेमा भएको खेलमा ३३० रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन मात्र बनाउन सक्यो । इङ्ल्याण्डको लागि सम कुरानले उत्कृष्ट ब्याटिङ गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । कुरानले ८३ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ९५ रन जोड्दै नटआउट रहे । यस्तै डाविड मलानके ५०, लिएम लिभिङस्टोनले ३६ र बेन स्टोक्सले ३५ रन जोड्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् ।

भारतको लागि शार्धुल ठाकुरले १० ओभर बलिङ गर्दै ६७ रन खर्चेर ४ विकेट लिए । यस्तै भुवनेश्वर कुमारले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिँदा नतार्जनले एक विकेट लिए ।

यसअघि महाराष्ट्र क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमा अलआउट हुँदै ३२९ रन जोडेको थियो । भारतका लागि ओपनर शिखर धवन, ऋषव पन्त र हार्दिक पाण्ड्यले अर्धशतक पूरा गरे । पन्तले ६२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सार्वधिक ७८ रन जोडे । हार्दिकले ४४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६४ रन जोड्दा धवनले ५७ बलमा १० चौकाको मद्दतमा ६७ रन जोडे ।

यस्तै अर्का ओपनर रोहित शर्माले ३७ रन जोड्दा शार्धुल ठाकुरले ३० र कुर्नाल पाण्डयले २५ रनको योगदान गरे । इङ्ल्याण्डको लागि मार्क वुडले ७ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर अदिल रसिदले १० ओभर बलिङ गर्दै ८१ रन खर्चेर २ विकेट लिदा साम कुरान टोप्ले, बेन स्टोक्स, मोइन अलि र लिभिङस्टोनले एक/एक विकेट लिए ।

जितसँगै भारतले ओडिआई सिरिजपनि २-१ ले जितेको छ । यसअघि भारतले इङ्ल्याण्डलाई टेस्ट सिरिजमा ३-१ र टि-२० सिरिजमा ३-२ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *