पानीको सतह घटेको भएपनि कुलेखानीबाट विद्युत् उत्पादनमा कुनै कमी नआउने

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षातको समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भएपनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युत् प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले रासससँग सङ्क्षिप्त कुराकानी गर्दै इन्द्रसरोवर जलाशयमा बिहीबार अपराह्नसम्ममा करीब १९ मिटर उचाइको सतहमा पानी भरिन बाँकी रहेको भए पनि कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावार्ट गरी कूल १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिने जानकारी दिए ।

उनले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युतको उत्पादनमा घटबढ नहुने भएको स्पष्ट पारे ।

कुलेखानीबाट उत्पादिन विद्युत् उपभोक्ताको मागबमोजिम काठमाडौँ, हेटौँडालगायत विभिन्न शहरका उपभोक्ता र औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति गर्दै आएको पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *