गण्डकी । २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिएको छ ।
‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो । संघ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो ।
इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो । “महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ”, उनले भने,” मंसिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”
सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए ।
केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो ।
जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए । “पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुःखद छ,” उनले भने,”निर्माण कम्पनीलाई जबाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ ।”
निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ । सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ ।
सडकमा तीनवटा पुल पनि बन्नेछन् । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ । महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।
उक्त सडक बनेपछि सात तालको वाटिका भनेर चिनिने सिंगो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
