काठमाडौं । काठमाडौंको ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंसिर ११ गते ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले आफ्नो ह्यान्ड ब्यागेजको फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको थियो। उक्त कोकिन लिन आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि सोही क्रममा पक्राउ परेका हुन्।
प्रारम्भिक अनुसन्धानमा कोरियाली नागरिकले पेरुबाट कोकिन काठमाडौं ल्याएको र भारतीय नागरिकले काठमाडौं हुँदै भारतको मुम्बई पुर्याउने जिम्मेवारी लिएको खुलेको छ।
कोरियाली नागरिक नोभेम्बर २६, २०२६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै काठमाडौं आइपुगेको अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ। उनी यसअघि पनि जुलाई १९, २०२६ मा नेपाल आएर तीन दिन ठमेलको होटलमा बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेख भेटिएको छ।
पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बई प्रहरीको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा दुवै जनाले पासवर्ड प्रयोग गरेको पाइएको छ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट कोकिनबाहेक एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।
नेपाललाई लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग गर्न सक्ने आशंकामा विदेशी नागरिकको आपराधिक गतिविधिको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेको ब्युरोले जनाएको छ।
