रोयटर्स । इरानले अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि अमेरिकी सेनाविरुद्धका आक्रमणमा स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक प्रयोग गरेको वासिङ्टन पोस्टले जनाएको छ । शनिबार प्रकाशित रिपोर्टमा आन्तरिक छलफलमा सहभागी दुई व्यक्तिलाई उदृत गर्दै इरानले स्टारलिंकको अनधिकृत रूपमा प्रयोग गरेको उल्लेख गरिएको छ ।
रिपोर्टअनुसार स्टारलिंकको सञ्चालक कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नो टोलीबाट इरानको अमेरिकी सेनाविरुद्धको गतिविधिसँग सम्बन्धित दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि आक्रोश व्यक्त गरेका थिए ।
मस्कलाई अमेरिकी सेनाले स्टारलिंकको सैन्य प्रयोजनका लागि तयार गरिएको संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरी एकपटक मात्रै उडान गर्न मिल्ने ड्रोन सञ्चालन गरिरहेको जानकारीसमेत दिइएको थियो । तर, ती ड्रोनका लागि जमिनमा आधारित सञ्चालन प्रयोजनको सस्तो योजनाअन्तर्गतको सेवा प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ ।
वासिङ्टन पोस्टका अनुसार इरानी सेनाले स्टारलिंक प्रयोग गरेको विषयमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई गोप्य प्रतिवेदनसमेत बुझाइएको थियो ।
यद्यपि, अमेरिकी रक्षा मन्त्रालयले यस विषयमा रक्षामन्त्रीको कार्यालयमा प्रतिवेदन पुगेकोबारे आफूलाई जानकारी नभएको जनाएको छ । मन्त्रालयले रोयटर्सलाई दिएको प्रतिक्रियामा यससम्बन्धी रिपोर्टबारे आफू जानकार नरहेको बताएको हो ।
स्पेसएक्स र इरानको विदेश मन्त्रालयले भने रोयटर्सको टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
भूराजनीतिक द्वन्द्वका क्षेत्रमा स्टारलिंकको प्रयोग, अमेरिकी सरकारको यसमाथिको नियन्त्रण तथा प्रतिबन्धित निकायले यसको अवैध प्रयोग गरेको विषयले पछिल्लो समय अन्तर्राष्ट्रिय ध्यान खिच्दै आएको छ । विशेषगरी युक्रेन र इरान युद्धका क्रममा यसको प्रयोगबारे प्रश्न उठेका छन् ।
इरानमा स्टारलिंक सञ्चालनका लागि आधिकारिक अनुमति छैन । तर, मस्कले यसअघि नै इरानमा स्टारलिंक सेवा सक्रिय रहेको बताएका थिए ।
इरानी अधिकारीहरूले यसअघि पनि अशान्तिका बेला सर्वसाधारणको इन्टरनेट पहुँच बन्द गर्दै आएका छन् । जनवरीमा भएका राष्ट्रव्यापी प्रदर्शनका क्रममा पनि सरकारले इन्टरनेट सेवा अवरुद्ध गरेको थियो । त्यसपछि अमेरिकी सरकारले हजारौँ स्टारलिंक टर्मिनल गोप्य रूपमा इरान पु¥याएको वाल स्ट्रिट जर्नलले जनाएको थियो ।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको पछिल्लो सैन्य कारबाहीपछि इरानी सरकारले इन्टरनेट पहुँचमाथि कडा नियन्त्रण कायम राखेको छ ।
