अफगानिस्तानको विद्यालय नजिक विस्फोट, सात बालबालिकासहित १० जनाको मृत्यु, १०० घाइते

बीबीसी । पूर्वी अफगानिस्तानको एक विद्यालय नजिक भएको विस्फोटमा सात बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई महिला पनि रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

बीबीसीको पश्तो सेवाका अनुसार शनिबार बिहान करिब १० बजे कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्दरसेर क्षेत्रमा विस्फोट भएको हो।कुनारको सूचना तथा संस्कृति विभागका प्रमुख समीउल्लाह हकबयानले घटनाको पुष्टि गर्दै विस्फोट विद्यालय नजिक भएको जानकारी दिएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार खानी उत्खननका क्रममा प्रयोग गरिने विस्फोटक पदार्थका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ। उक्त विस्फोटक पदार्थ असदाबादस्थित एउटा घरमा भण्डारण गरिएको थियो। सो घरको पर्खाल विद्यालयसँग जोडिएको थियो।

तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले प्रारम्भिक अनुसन्धानमा खानी कम्पनीको विस्फोटक पदार्थ भण्डारणस्थलमा भएको लापरबाही र असावधानीका कारण विस्फोट भएको देखिएको बताएका छन्। उनका अनुसार घटनाको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *