इजरायलमाथि हमासका नेताको छोरा र परिवारको हत्या गर्ने प्रयास गरेको आरोप

बीबीसी । हमासले आफ्ना राजनीतिक नेता खलील अल–हय्याका छोरा इज्ज अल–दिन शुक्रवारको इजरायली हमलामा बाँच्न सफल भएको दाबी गरेको छ । बीबीसी अरबीका अनुसार हमासले उक्त घटना उनलाई मार्न गरिएको बताएको छ । हमासका नेता बसिम नाइमले समाचार एजेन्सी रोयटर्सलाई इज्ज अल–दिन र उनको परिवार शुक्रवार बिहान भएको हवाई हमलाबाट बच्न सफल भएको बताएका हुन् ।

हमास स्रोतहरूका अनुसार हमलामा धेरै मानिसहरू घाइते भएका छन् । त्यसमध्ये इज्ज अल–दिनकी पत्नी पनि परेकी छन् तर कसैको मृत्यु नभएको बताइएको छ । इजरायली सेनाले अहिलेसम्म यो घटनबारे कुनै टिप्पणी गरेको छैन र यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

बसिम नाइमले इज्ज अल–दिन सन् १९९७ मा जन्मिएको खुलासा गरेका छन् । उनी खलील अल–हय्याका एक मात्रै जीवित छोरा हुन्। इजरेली सेनाले उनका अन्य चार छोराहरूलाई मारिसकेको छ । नाइमले शुक्रवारको हमलामा खलील अल–हय्याका विगतमा मारिएका एक छोराका परिवार पनि बाँच्न सफल भएको बताएका छन् ।

हमासले आफ्नो वक्तव्यमा इजरेली सेनाले एउटा आवासीय भवनमा हमला गरेको बताएको छ । इजरायलका रक्षामन्त्री इजरेल काट्सले खालिल अल–हय्यालाई दिएको धम्कीसँग जोडेर हमासले यसलाई हेरेको छ । इजरायलले भने हमासको यो भनाइबारे केही टिप्पणी गरेको छैन । गत महिना गाजामा लगभग दिनहुँ भएका हवाई हमलामा दर्जनौँ प्यालेस्टिनीहरू मारिएका विवरण आएका छन्।

यसअघि बिहीवार गाजा स्ट्रीपमा तीन इजरायली हवाई हमलामा मारिएका आठ जना प्यालेस्टिनीहरूमध्ये हमासका राजनीतिक अधिकारी र उनकी पत्नी रहेको भन्ने विवरण आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *