काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ ।विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले चिकित्सकहरूलाई प्रदेश तथा संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएको छ । त्यस्तै, कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक परिचालन गरिएको छ ।
खटाइएका ८३८ चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार उनीहरूलाई स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
बाँकी ३२७ जना चिकित्सकलाई संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको मन्त्रालयले जनाएको छ । विशेषज्ञ चिकित्सकको परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवामा सुधार आउने अपेक्षा गरिएको छ ।
यसबाट सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
विशेषज्ञ चिकित्सकलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्याउँदा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै उपचारका लागि ठूला सहर जानुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
