प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीः ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनु पर्ने होइन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग बिहीबार समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल गरेका छन् ।

छलफलमा अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय राजनीति, सरकारका गतिविधि तथा समसामयिक राष्ट्रिय मुद्दाहरूबारे सम्पादकहरूसँग विचार आदानप्रदान गरेका छन् ।

छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन साहको भारत भ्रमण निजी भएको बताए । उनले नेपाली सेनाको गार्ड अफ अनर नलिएका प्रधानमन्त्रीले भारतीय सेनाको गार्ड अफ अनर लिएको भन्दै प्रश्न उठाए । उनले भने, ‘नेपाली सेनाको गार्ड अफ अनर नलिने तर भारतीय सेनाको लिने ?’

उनले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय मुद्दा नभएकाले त्यसलाई राजकीय भ्रमण भन्न नमिल्ने बताए । उनले भने, ‘प्रधानमन्त्री जाँदा देशको कुनै एजेण्डा थिएन । उहाँको निजी भ्रमण थियो, राष्ट्रिय र राजकीय भ्रमण भन्न सुहाउने थिएन।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा नउठेको बताए । ईपीजी प्रतिवेदनकाबारेमा कुनै कुरा नउठाएको भन्दै आपत्ति जनाए ।

उनले प्रश्न गरे, खै ईपीजी प्रतिबेदनकाबारेमा कुरा गरेको ? ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनु पर्ने होइन ? जनकपुरको विकासका लागि भारतले दिन्छु भनेको, भूकम्पपछिको पुनर्निर्माणका लागि दिन्छु भनेको पैसा आएन । न सीमाबारे कुरा उठ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *