इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

कायरो । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ राजधानी कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक (ध्बचचबत्र) इलाकास्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा आसपासका दर्जनौँ सवारीसाधनसमेत जलेर नष्ट भएका छन् ।

घटनामा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केही जलेर घाइते भएका छन् भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा रातको आकाशमा अग्लो ज्वाला र कालो धुवाँ फैलिएको तथा आसपासका सवारीसाधन आगोमा जलेको देखिएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि त्यसबाट पेट्रोल पोखिएर आसपासका सवारीसाधनमा आगो फैलिएको थियो । सरकारी अखबार अल–अहरामले अनुसन्धानसँग जानकार स्रोतलाई उदृत गर्दै ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ । त्यसपछि ट्यांकर सडकको डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको समाचारमा उल्लेख छ ।

घटनाबारे क्षेत्रीय सरकारी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको छ । मृतकहरूको पहिचान सुनिश्चित गर्न शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ ।

घटनास्थलमा उद्धारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगलागी नियन्त्रणमा आएपछि उद्धार टोलीले जलेका सवारीसाधन हटाउँदै सडक खुलाउने काम गरेको थियो । सडक सफाइपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको सरकारी प्रसारणमाध्यमले जनाएको छ ।

इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागी तथा सडक दुर्घटनाका घातक घटना बढ्दै आएका छन् । जीर्ण सडक पूर्वाधार, कमजोर ट्राफिक नियम कार्यान्वयन तथा सडक सुरक्षासम्बन्धी समस्याका कारण दुर्घटनामा ठूलो मानवीय क्षति हुने गरेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष इजिप्टका सडक दुर्घटनामा करिब ६ हजार जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *