नेपाल–भारत सम्बन्धमा रणनीतिक परिवर्तनको संकेत

-कमल थापा ।

१. भ्रमणको शैली र कार्यशैली
विगतको परम्परालाई तोड्दै भारत भ्रमणलाई तामझाम, औपचारिकता र घुमफिरको अवसरका रूपमा प्रयोग गर्नुको सट्टा भ्रमणलाई छोटो, छरितो र परिणाममुखी बनाउने प्रधानमन्त्रीको प्रयास सराहनीय छ।

२. नेपाल–भारत सम्बन्धमा रणनीतिक परिवर्तनको संकेत

यस भ्रमणमार्फत वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई हेर्ने दृष्टिकोणमा रणनीतिक परिवर्तन (Strategic Shift) गर्न खोजेको स्पष्ट संकेत दिएको छ। लामो समयदेखि कायम रहँदै आएका संवेदनशील र महत्त्वपूर्ण राजनीतिक विषयहरूलाई तत्कालका लागि थाती राख्दै आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्राथमिकता दिन खोजिएको देखिन्छ।यो रणनीतिक परिवर्तनका पक्ष र विपक्षमा बहस तथा विवाद हुन सक्छ। तर प्रधानमन्त्री शाहले गम्भीर सोचविचारका साथ यो दृष्टिकोण अवलम्बन गर्नुभएको हो भने यसलाई नकारात्मक रूपमा लिनुपर्ने आवश्यकता छैन।

किनभने, ऐतिहासिक विरासतका रूपमा रहेका नेपाल–भारत सम्बन्धका कतिपय जटिल विषयहरू—चाहे त्यो भारतद्वारा हुँदै आएको सीमा अतिक्रमणको प्रश्न होस् वा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनको विषय—तत्काल समाधान हुन सक्ने विषय होइनन्। यसका लागि समय, गम्भीर कूटनीतिक पहल र सक्षम नेतृत्वको आवश्यकता पर्दछ। साथै, यी विषयको समाधानका लागि दुई देशबीच विद्यमान चिसोपन अन्त्य गरी आपसी विश्वासको वातावरण निर्माण गर्नु पनि उत्तिकै जरुरी छ।

यस्तो अवस्थामा यी ऐतिहासिक तथा राजनीतिक विषयलाई आधार बनाएर दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई बन्धक बनाइराख्नु हुँदैन भन्ने सरकारको सोच हो भने त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। तर यस्तो महत्त्वपूर्ण रणनीतिक परिवर्तनका सम्बन्धमा राष्ट्रिय सहमति र सर्वदलीय समझदारी कायम गर्नु नितान्त आवश्यक छ।

३. संवेदनशील राष्ट्रिय मुद्दाहरूलाई ओझेलमा पार्नु हुँदैन

महत्त्वपूर्ण र संवेदनशील राष्ट्रिय मुद्दाहरूलाई तत्कालका लागि थाती राख्ने नाममा तिनको महत्त्व कमजोर पार्नु वा तिनलाई क्रमशः ओझेलमा पर्न दिनु हुँदैन। त्यसो हुनु राष्ट्रिय हितविपरीत हुनेछ र अन्ततः राष्ट्रघातसमेत ठहरिन सक्छ। त्यसैले यस्ता संवेदनशील विषयहरूलाई निश्चित समयसीमा तोकेर उच्चस्तरीय संयन्त्रमार्फत समाधान गर्ने गरी निरन्तर कूटनीतिक प्रक्रियामा राखिनुपर्छ। तिनलाई बिर्सने, छोड्ने वा अनिश्चितकालसम्म अल्झाएर राख्ने काम हुनु हुँदैन।

४. हवाई रुटसम्बन्धी सहमति र कार्यान्वयनको चुनौती

प्रधानमन्त्रीको भ्रमणका क्रममा काठमाडौं–भैरहवा र लखनउबीचको हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा भएको सहमति उपलब्धिमूलक छ। तर यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक सम्भाव्यता अध्ययन, पूर्वतयारी र पूर्वाधार विकासको काम अझै गर्नुपर्ने देखिन्छ।

विगतमा बंगलादेशको बन्दरगाहसम्म पहुँचका लागि भारतको ’चिकेन नेक’ क्षेत्र हुँदै पारवहन सुविधा उपलब्ध गराउन नेपालले लामो र कठिन प्रयास गरेको थियो। तर त्यो सुविधा उपयोग गर्न आवश्यक पूर्वतयारी र व्यवस्थापन गर्न नसक्दा अपेक्षित लाभ लिन सकिएको छैन। यसबाट सरकारले पाठ सिक्नुपर्छ। कुनै पनि सहमति गर्नु मात्र पर्याप्त हुँदैन, त्यसको उपयोग गर्न आवश्यक पूर्वतयारी र कार्यान्वयन क्षमता पनि विकास गर्नुपर्छ।

५. आर्थिक सहायता र ऋण

नेपालको आवश्यकता र अपेक्षाको तुलनामा दुई खर्ब चालीस अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता तथा ऋण उपलब्ध गराउने विषय पर्याप्त नभए पनि यसलाई सकारात्मक रूपमा लिनुपर्छ। यद्यपि, यस्तो सहायता र ऋणको प्रभावकारिता त्यसको उपयोग, प्राथमिकता निर्धारण र कार्यान्वयनमा निर्भर रहनेछ।

६. विकसित भारत र समुन्नत नेपाल

दुई देशबीच ’विकसित भारत र समुन्नत नेपाल’ को साझा परिकल्पना र अवधारणामा सहमति कायम हुनु दीर्घकालीन दृष्टिकोणबाट सकारात्मक छ। यसले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक दायराबाट विस्तार गरी आर्थिक विकास, समृद्धि र पारस्परिक सहकार्यको नयाँ आधार प्रदान गर्न सक्छ।

७. व्यापार घाटा, नेपाली उत्पादनको बजार पहुँच र पञ्चेश्वर परियोजना

भारतसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोरिरहेको छ। यसलाई न्यूनीकरण गर्न भारतीय बजारमा नेपाली उत्पादनको सहज र सुविधाजनक पहुँच सुनिश्चित गर्नु आवश्यक छ। नेपाली वस्तुहरूको निर्यात प्रवद्र्धन, गैरभन्सार अवरोधको अन्त्य, गुणस्तर प्रमाणीकरणमा सहजीकरण तथा पारवहन सुविधाको विस्तारजस्ता विषयमा ठोस पहल हुनुपथ्र्यो। तर यस भ्रमणमा यी विषयले अपेक्षित प्राथमिकता पाएको देखिएन।

त्यसैगरी, एकीकृत महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनमा भइरहेको लामो ढिलाइले अनेकौँ आशंका सिर्जना गरिरहेको छ। यति महत्त्वपूर्ण र रणनीतिक महत्त्व बोकेको आयोजना वर्षौँदेखि अघि बढ्न नसक्नु दुःखद् हो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यस परियोजनालाई कार्यान्वयनमा लैजाने सम्बन्धमा पनि पुरानै ढर्राको सहमति र प्रतिबद्धतालाई निरन्तरता दिइएको देखिन्छ। ठोस र निर्णायक परिणामको अपेक्षा गरिएको अवस्थामा यस्ता सतही सहमतिको निरन्तरता पर्याप्त हुँदैन। अब परियोजनाको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, समयसीमा र दुवै देशको जवाफदेहितासहितको ठोस निर्णय आवश्यक छ।

८. खुला सीमा र सुरक्षा चुनौती

नेपाल–भारतबीचको खुला सिमानाका कारण उत्पन्न हुने आपराधिक गतिविधि, अवैध ओसारपसार तथा अन्य सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सीमा नियमन र व्यवस्थापनको विषयमा ठोस पहल आवश्यक छ। खुला सीमाको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्त्वलाई कायम राख्दै दुवै देशको सुरक्षा चासोलाई सम्बोधन गर्ने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता छ। तर यस भ्रमणमा यो महत्त्वपूर्ण विषयले पनि अपेक्षित प्राथमिकता पाएको देखिएन।

९. नेपाल–भारत सम्बन्धमा विश्वासको पुनर्निर्माण

विभिन्न कारणले विगतमा नेपाल–भारत सम्बन्धमा चिसोपन र अविश्वास उत्पन्न भएको थियो। अहिले पनि त्यसमा पूर्ण सुधार आइसकेको छैन। यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाउने केही प्रयास भएको आभास हुन्छ।
तर कूटनीतिक सम्बन्धमा देखिने सकारात्मक संकेत र वास्तविक उपलब्धिबीच फरक हुन्छ। त्यसैले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछ र त्यसको परिणाम के हुन्छ भन्ने कुरा हेर्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। समग्र निष्कर्षः यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ दृष्टिकोण र प्राथमिकताको खोजीका रूपमा हेर्न सकिन्छ। आर्थिक कूटनीति र व्यापारिक सम्बन्धलाई प्राथमिकता दिनु सकारात्मक भए पनि त्यस क्रममा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयहरूलाई कमजोर हुन दिनु हुँदैन। सम्बन्ध सुधार र राष्ट्रिय हित परस्पर विरोधी विषय होइनन्। दुवैलाई सन्तुलित ढङ्गले अघि बढाउनु नै नेपालको परिपक्व कूटनीतिको परिचय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *