पाकिस्तान ‘ए’सँगपनि नेपाल पराजित

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले दोस्रो हार बेहोरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पाएको नेपाल १७.३ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटिएको हो । नेपालको लागि मयान यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । उनी बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । बासिर अहमदले ११ रन बनाउँदा नेपालका ६ ब्याट्सम्यानले रनको खातासम्म खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न पाकिस्तानका मोहम्मद हसनैन र सफुयान मोकिमले समान तीन/तीन विकेट लिँदा मोहम्मद इम्रानले दुई र माज सदाकतले एक विकेट लिए ।

यसअघि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले ४२ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । पाकिस्तानको लागि रोहायल इम्रानले अर्धसतक बनाए । उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ६४ रन बनाए । यस्तै हसन नवाजले २८, अहमद डानियलले १६,हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३/१३ रन बनाए ।

नेपालको लागि रशिद खानले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए । यस्तै अभिशेष गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

जितसँगै पाकिस्तान ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुग्दा नेपाल समान खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै भारत ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुग्दा समान तीन खेल खेलेको युएई अंकविहीन रहँदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *