सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले मंगलबार यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेपछि सात दिनभित्र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिए । कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने सभापति खड्काले बताए । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएकाले त्रुटिपूर्ण रहेको भन्दै समितिमा उजुरी परेको थियो ।

बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

यसैबीच बैठकमा रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् ।

वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखे पनि हाल यसको ठेक्का रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *