भारतको अयोध्याबाट छुटेको रेल आइपुग्यो जनकपुरधाम

जनकपुरधाम । भगवान रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल आज माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ ।

प्रधानमन्त्री बालेन साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट गुडेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो ।

रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्ति तथा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी छन् । उनीहरूलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गरेका थिए ।

अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।

उनका अनुसार रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । त्यसपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *