बालेनको नयाँ कूटनीतिक रणनीति: बफर स्टेट’बाट ‘ब्रिज स्टेट’ बन्ने नेपालको प्रयास 

-झाङ जियादोङ

नेपालका प्रधानमन्त्री बालेन साहले आइतबारदेखि सोमबारसम्म भारतको राजकीय भ्रमण गरे । पदभार ग्रहण गरेको करिब आठ महिनापछि गरिएको यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण थियो । यसले पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच भएको महत्वपूर्ण उच्चस्तरीय संवादलाई पनि संकेत गरेको छ।

नवनियुक्त नेपाली प्रधानमन्त्रीहरूले पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु गर्ने लामो समयदेखिको परम्परालाई यो भ्रमणले निरन्तरता दिएको छ। तर, यस भ्रमणका केही विशेष पक्ष भने उल्लेखनीय थिए—भ्रमणको छोटो अवधि, सीमित भ्रमण कार्यक्रम र आर्थिक तथा कार्यात्मक सहकार्यमा केन्द्रित कार्यसूची । यी व्यवस्था केवल भ्रमणको कार्यक्रम निर्धारण गर्ने विषय मात्र थिएनन्। बरु, यसले बालेन प्रशासनको कूटनीतिलाई राजनीतिकरणबाट मुक्त गर्ने र नेपाललाई परम्परागत ‘बफर स्टेट’ (दुई शक्तिबीचको मध्यवर्ती राज्य) बाट ‘ब्रिज स्टेट’ (सेतु राष्ट्र) मा रूपान्तरण गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको थियो।

धेरै साना देशहरूले ठूला शक्तिहरूबीच कूटनीतिक सन्तुलन कायम गर्ने रणनीति अपनाउँदै त्यसबाट आर्थिक लाभ हासिल गर्ने अपेक्षा गर्छन् । तर, यस्तो रणनीतिमा जोखिम पनि उत्तिकै हुन्छ । विश्वस्तरमा शक्तिहरूबीच सन्तुलन कायम गर्ने प्रयास घरेलु राजनीतिमा समेत प्रवेश गर्न सक्छ, जसले आन्तरिक विभाजन र अस्थिरता बढाउँदै अन्ततः देशको दीर्घकालीन स्थिरता र विकासलाई कमजोर बनाउन सक्छ। शाह प्रशासन यस्तो कूटनीतिक जटिलताबाट बाहिर निस्कने प्रयासमा देखिन्छ।

नेपाललाई लामो समयदेखि चीन र भारतजस्ता दुई विशाल शक्तिबीच ‘दुई ढुंगाबीचको तरुल’ का रूपमा वर्णन गरिँदै आएको छ । नेपालको विदेश नीति पनि यी दुई छिमेकीबीच आफ्नो रणनीतिक तथा कूटनीतिक चलखेलको ठाउँ सुरक्षित राख्नमा केन्द्रित रहँदै आएको छ। तर, बालेन प्रशासनले भौगोलिक अवस्थालाई विकासका लागि अवसरमा रूपान्तरण गर्ने र नेपाललाई ‘जीवन्त सेतु’ बनाउने प्रस्ताव स्पष्ट रूपमा अघि सारेको छ।

यो रूपान्तरणका लागि घरेलु राजनीतिले विदेश नीतिमाथि पार्ने प्रभाव घटाउनु आवश्यक छ । एकातिर, नेपालले बाह्य सम्बन्धलाई दलगत राजनीतिक दाउपेच र प्रतीकात्मक सन्तुलनको अभ्यासबाट अलग गर्दै व्यावसायिक दक्षता र व्यावहारिक हितलाई प्राथमिकता दिन खोजेको छ। अर्कोतिर, छिमेकी देशहरूसँगको कूटनीतिमा राजनीतिक तथा रणनीतिक पक्षलाई कम प्राथमिकता दिँदै व्यवहारिक सहकार्यलाई बढी महत्व दिने लक्ष्य राखेको छ।

भारत र चीनका लागि बालेन प्रशासनले गरेको राजदूत नियुक्ति यस दृष्टिकोणको स्पष्ट अभिव्यक्ति हो । भारतका लागि नयाँ राजदूत डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मा दुवै सम्बन्धित देशका विशेषज्ञ हुन्। उनीहरूसँग ती देशबारे गहिरो ज्ञान र व्यापक व्यावसायिक सम्बन्ध तथा नेटवर्क छ । यी नियुक्तिले कूटनीतिलाई घरेलु राजनीतिक संघर्षबाट अलग राख्दै द्विपक्षीय सम्बन्धलाई व्यावसायिक आधारमा अघि बढाउने प्रयास झल्काउँछ।

बालेन साहको भारत भ्रमणले उच्चस्तरीय भेटवार्तामा पनि कूटनीतिलाई राजनीतिकरणबाट मुक्त गर्ने यही दृष्टिकोणलाई विस्तार गरेको छ । २० घण्टाभन्दा केही बढी समय चलेको भ्रमण नयाँदिल्लीमा सीमित थियो भने औपचारिक तथा समारोहजन्य कार्यक्रम न्यून राखिएका थिए । कार्यसूची ऊर्जा, कनेक्टिभिटी, लगानी, शिक्षा, स्वास्थ्य र कृषिमा व्यावहारिक सहकार्यमा केन्द्रित थियो। सीमा विवादजस्ता अत्यधिक राजनीतिकरण भएका विषयलाई कम प्राथमिकता दिइएको वा औपचारिक कार्यसूचीबाट बाहिर राखिएको थियो। यसले बालेनको ‘पहिले घरेलु प्राथमिकता’ भन्ने दृष्टिकोण र औपचारिकताभन्दा ठोस उपलब्धिलाई प्राथमिकता दिने सोच प्रतिबिम्बित गरेको थियो ।

नेपाल–भारत सम्बन्धलाई राजनीतिकरणबाट मुक्त गरेर बालेनले विदेश नीति निर्णयमा घरेलु दलगत विभाजन र वैचारिक बहसको प्रभाव घटाउने अपेक्षा गरेका छन् । यसले बाह्य नीतिलाई आर्थिक पुनरुत्थान र शासन व्यवस्थाको आवश्यकताअनुसार अघि बढाउन सहयोग पुग्नेछ । साथै, व्यावहारिक र मापनयोग्य सहकार्यका माध्यमबाट चीन र भारतबीच नेपालको कूटनीतिक तथा रणनीतिक चलखेलको ठाउँ अझ फराकिलो बनाउने उनको प्रयास देखिन्छ।

हालै नेपालका सत्तारूढ दलले सांसदहरूको ठूलो टोली चीन भ्रमणमा पठाएको छ । यस कदममा कूटनीतिक सन्तुलनको पक्ष रहे पनि यसको मुख्य उद्देश्य राजनीतिक निकटता वा कुनै पक्ष रोज्नु भन्दा कार्यात्मक सहकार्यमा केन्द्रित रहेको देखिन्छ । बालेन साहले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव गरेको नेपाल, भारत र चीनको नेतृत्वमा रहने ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ पनि यही सोचको प्रतिबिम्ब हो । ठूला छिमेकीहरूसँगको सम्बन्धलाई आधारभूत रूपमा पुनर्संरचना गर्ने प्रयासभन्दा यस पहलले तथ्यांक आदानप्रदान, हिमनदी निगरानी र विपद् पूर्वचेतावनीजस्ता विशिष्ट कार्यात्मक क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ।

अवश्य पनि, नेपाललाई भू–राजनीतिक बफर राष्ट्रबाट कार्यात्मक सहकार्यको सेतुमा रूपान्तरण गर्ने प्रक्रिया अहिलेका लागि मुख्यतः नीतिगत दिशाका रूपमा मात्रै रहेको छ । यसको वास्तविक उपलब्धि मूल्यांकन गर्न समय लाग्नेछ। भौगोलिक सीमितता र असमान निर्भरताले सिर्जना गरेका बाधाहरू अझै हटेका छैनन्। बालेन साहले पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु गर्नुले पनि यही वास्तविकता देखाउँछ।
तथापि, व्यावसायिक आधारमा राजदूत नियुक्ति, छोटो र केन्द्रित भ्रमण तथा व्यावहारिक सहकार्यमा आधारित कार्यसूचीमार्फत बालेन प्रशासनले कूटनीतिलाई राजनीतिकरणबाट मुक्त गर्ने रणनीतिलाई प्रमुख रूपमा अघि सारेको स्पष्ट गरेको छ। यसको उद्देश्य चीन–भारत सम्बन्धको गतिशीलता बदल्नु होइन, बरु भू–राजनीतिक कारकहरूले नेपालको स्वतन्त्र निर्णय क्षमता र कूटनीतिक ठाउँमाथि पार्ने प्रभावलाई न्यून गर्नु हो।

नेपालले कमजोर र अस्थिर रणनीतिक सन्तुलनको अभ्यासभन्दा व्यवहारिक सहकार्यका आधारमा आफ्नो ‘सेतु’ भूमिका निर्माण गर्न खोजेको छ। यो दृष्टिकोणलाई निरन्तरता दिन सकिने वा नसकिने कुरा नेपालको घरेलु राजनीतिक स्थिरता र कूटनीतिक उपलब्धिहरूको ठोस परिणाममा निर्भर रहनेछ।

ग्लोबल टाइम्सबाट

लेखकः फुदान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *