बेइजिङ । चीनले टर्कीको अन्ताल्यामा आइतबार सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा राजनीतिक निर्णयमा सहमति जुट्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार पत्रकार सम्मेलनमा कोप न्यायोचित संक्रमण, उत्सर्जन न्यूनीकरण, अनुकूलन तथा जलवायु वित्तलगायतका विषयमा विभिन्न निर्णय गरे पनि राजनीतिक सहमति कायम गर्न नसकेको बताएका हुन् ।
उनले बहुपक्षीय प्रक्रियाप्रति कुनै पनि देशले विश्वास गुमाउन नहुनेमा जोड दिए । जलवायु परिवर्तनको सामना गर्नु सम्पूर्ण मानवजातिको साझा प्रयास भएको उल्लेख गर्दै उनले विश्वव्यापी हरित तथा न्यून कार्बन विकासतर्फको संक्रमण अपरिवर्तनीय रहेको बताए ।
गुओले सबै पक्षलाई बहुपक्षीयताको संरक्षण गर्न र साझा तर फरक जिम्मेवारीको सिद्धान्त पालना गर्न आग्रह गरे ।उनले जलवायु परिवर्तनसम्बन्धी बहुपक्षीय नियम, वैज्ञानिक तथ्य र प्रत्येक देशको राष्ट्रिय परिस्थितिको सम्मान गर्नुपर्ने बताए ।
साथै, जलवायु परिवर्तनको सामना गर्न एकता र सहकार्यका लागि थप राजनीतिक इच्छाशक्ति प्रदर्शन गर्दै सहमति निर्माण गर्न र पेरिस सम्झौताको कार्यान्वयनलाई अघि बढाउन सबै देशलाई आह्वान गरे ।
