एनपीएलमा रिजान ढकालले जिते ओमोडा कार, दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका तीव्र गतिका बलर रिजान ढकालले ओमोडा कार जितेका छन् । शनिबार सम्पन्न एनपीएलमा ढकालले ओमोडा प्लेयर अफ द टुर्नामेन्ट अवार्ड जित्दै ओमोडा कार प्राप्त गरेका हुन् ।

रिजानले प्रतियोगितामा खेलेका आठ खेलमा १७ विकेट लिएका थिए । उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीसमेत बने । उनी सर्वाधिक विकेटले नेपाली खेलाडी बन्दै बजाज पल्सर एन१६० मोटरसाइकल पनि प्राप्त गरे ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । दीपेन्द्रले प्रतियोगिताका १० खेलमा २१७ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।

यस्तै, जनकपुर बोल्ट्सका १७ वर्षीय तीव्र गतिका बलर राहुल यादव इमर्जिङ प्लेयर घोषित भएका छन् । उनले नयाँ बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरेका छन् ।

जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिए पनि राहुलले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सात खेलमा १२ विकेट लिएका थिए ।

यसैगरी, नेपाली खेलाडीतर्फ प्रतियोगितामा सर्वाधिक रन बनाउने विराटनगर किंग्सका लोकेश बमले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरेका छन् । उनले सात खेलमा दुई अर्धशतकसहित २४२ रन बनाएका थिए ।

शनिबार सम्पन्नको तेस्रो संस्करणको एनपीएल फाइनलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *