काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस)ले अजरबैजानका संस्कृति मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
प्रथम शाङ्घाई सहयोग संगठन (एससीओ) सभ्यतागत संवाद मञ्चका क्रममा शनिबार भएको भेटमा नेपाल–अजरबैजान सम्बन्ध थप सुदृढ बनाउने तथा सांस्कृतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो ।
भेटमा कलाकार तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदान, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन र दुवै देशका सांस्कृतिक संस्थाबीच सहकार्य बढाउने विषयमा जोड दिइएको छ ।
दुवै मन्त्रीले जलवायु परिवर्तनका चुनौती तथा प्राकृतिक सम्पदा, जैविक विविधता र संवेदनशील पर्वतीय पारिस्थितिक प्रणाली संरक्षणको महत्त्वबारे पनि विचार आदानप्रदान गरेका छन् ।
त्यसैगरी, दिगो पर्यटन, सम्पदा संरक्षण र जलवायु उत्थानशीलताका क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्दै सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल भएको छ ।
भेटले सांस्कृतिक आदानप्रदान, आपसी समझदारी र साझा प्राथमिकताका क्षेत्रमा सहकार्य गर्दै नेपाल र अजरबैजानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता पुनः पुष्टि गरेको जनाइएको छ ।
