काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘डरपोक’ भन्दै प्रतिनिधिसभा विघटनको निर्णयमाथि प्रश्न उठाएका छन् ।
शनिबार काठमाडौँको बसुन्धरामा एमालेको नेसनल भोलेन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी विशेष प्रदेश युनिफाइड कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अोलीले सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवैलाई असंवैधानिक भन्दै वर्तमान राजनीतिक प्रक्रियामाथि आलोचना गरेका हुन् ।
उनले सरकार गठनदेखि संसद् विघटनसम्मको प्रक्रिया संविधान र लोकतान्त्रिक विधिबाहिर भएको दाबी गरे । ओलीले आफू नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको र उनले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो काम प्रतिनिधिसभा विघटनको सिफारिस गर्नु रहेको टिप्पणी गरे ।
उनले भने, ‘एउटा असंवैधानिक प्रधानमन्त्रीले व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गरेर, डरपोक राष्ट्रपतिले प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो । ’उनले संसद् विघटन गरेर लोकतन्त्र जोगाएको दाबी गर्नु विरोधाभासपूर्ण रहेको तर्क गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकार गठनको प्रक्रिया आगजनी, तोडफोड, आतंकपूर्ण र अलोकतान्त्रिक परिस्थितिबाट सुरु भएको आरोप लगाउँदै देश अझै संवैधानिक तथा लोकतान्त्रिक विधिअनुसार सञ्चालन हुन नसकेको बताए ।
