भक्तपुर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार भक्तपुरमा पार्टीको जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक नगर्न आग्रह गरेका छन् ।
उनले शुक्रबार निर्वाचन आयोगसँगको छलफलमा पनि आफूले यही कुरा बताएको जानकारी दिए । उनले संविधान र कानुनमा छेडखानी गर्न खोजे दुर्घटना निम्तिने चेतावनी दिए । उनले भने,‘म तपाईँहरुलाई भन्न चाहन्छु, दुर्घटना हुने खतरा टरेको छैन । हामी सतर्क भएनौँ भने अप्ठ्यारो आउन सक्छ । संविधानमा जे भनिएको छ, कानुनमा जे व्यवस्था त्यही अनुसार निर्वाचन हुनुपर्छ ।’
उनले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताए । प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताए ।
हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको दाहालको आरोप छ । पछिल्लो राजनीतिक परिस्थितिले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको संकेत गरिरहेको दाबी गर्दै उनले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए ।
‘हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ,’ उनले भने ।
देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउन नयाँ संकल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने उनले बताए । शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्त्व र संघर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई सचेत गराउन घरघर र टोलटोलसम्म पुग्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा सुकुम्बासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढंगले प्रहार भइरहेको दाबी गरे । शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ छ ।
संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा स्थापित गरेको उल्लेख गर्दै दाहालले संविधान, लोकतन्त्र, गणतन्त्र, समावेशिता र जनताका अधिकारको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताए ।
प्रचण्डले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूलाई कारबाही गर्ने गरेको आरोप लगाए । उनले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण तथा संरक्षण गर्ने, तर त्यसविरुद्ध लड्नेलाई विभिन्न बहानामा थुनछेक गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे । सरकारको यस्तो रवैयाविरुद्ध नयाँ संकल्पका साथ अघि बढ्ने उनले बताए ।
