वासिङ्टन । अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)ले चिप निर्माता कम्पनी एनभिडियाको लेखा अभ्यासमाथि अनुसन्धान गरिरहेको स्रोतहरूले बताएका छन् । यस अनुसन्धानले विवादमा घेरिएको कम्पनी एनभिडियामाथि थप दबाब बढाएको छ ।
यसअघि मंगलबार वाल स्ट्रिट जर्नलले एसईसीले एनभिडियामाथि अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेको थियो । तर अनुसन्धानको विषय के हो भन्ने स्पष्ट नभएको जनाएको थियो । रोयटर्ससँग कुरा गरेका दुई स्रोतका अनुसार एसईसीको अनुसन्धान शाखाले कम्पनीको लेखा अभ्यासमा सम्भावित अनियमितताबारे छानबिन गरिरहेको छ ।
एसईसीका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् भने एनभिडियाले रोयटर्सको टिप्पणी मागमा तत्काल प्रतिक्रिया दिएको छैन ।
रोयटर्सले अनुसन्धान कहिले सुरु भएको हो वा नियामकले लेखा अभ्यासका कुन विषयलाई अनुसन्धानको दायरामा राखेको छ भन्ने तत्काल पुष्टि गर्न सकेको छैन । अनुसन्धान हुनु आफैंमा अनियमितता प्रमाणित हुनु होइन र धेरै अनुसन्धान कारबाहीबिना नै टुंगिने गर्छन् ।
रोयटर्सको अनुसन्धानसम्बन्धी समाचार सार्वजनिक भएपछि शुक्रबार एनभिडियाको शेयर मूल्यमा थप गिरावट आएको थियो । एलएसईजीको तथ्यांकअनुसार कम्पनीको शेयर मूल्य करिब १३ प्रतिशतले घटेको थियो । समाचार प्रकाशित हुनुअघि नै शेयर ६ प्रतिशतभन्दा बढी घटिसकेको थियो ।
एनभिडियामाथिको अनुसन्धानले कम्पनीका लगानीकर्तामाथि थप दबाब सिर्जना गरेको छ । कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङसँग सम्बन्धित व्यक्तिगत विवाद र चीनसँग जोडिएको व्यापारिक अनुसन्धानका समाचारले पनि कम्पनीको शेयर बजार प्रभावित भएको समाचारमा उल्लेख छ ।
अमेरिकी अधिकारीहरूले एनभिडियाको चिप ग्राहक कम्पनी मेगास्पिड र त्यसकी पूर्व प्रमुख एलिस ह्वाङसँग सम्बन्धित चीनमा चिप पठाइएको आरोप तथा निर्यात नियन्त्रण उल्लंघनको सम्भावनाबारे सन् २०२४ देखि अनुसन्धान गरिरहेको अमेरिकी न्याय तथा वाणिज्य विभागले यसै साता जनाएको थियो ।
मेगास्पिडले एलिस ह्वाङले सन् २०२५ अगस्टमा कम्पनी छाडेको र आफूले कानुनसम्मत व्यापार गरेको जनाएको छ । एलिस ह्वाङलाई सम्पर्क गर्न रोयटर्स सफल भएको छैन ।
एनभिडियाका पूर्व सीईओ जेन्सेन ह्वाङले नोभेम्बर ८ मा जारी वक्तव्यमा विवाहेतर सम्बन्ध स्वीकार गर्दै माफी मागेका थिए । तर उक्त वक्तव्यमा एलिस ह्वाङको नाम उल्लेख गरेका थिएनन् ।
चीनले एलिस ह्वाङ जासुस भएको आरोप अस्वीकार गरेको छ । रोयटर्सले पनि उनी चिनियाँ सरकारका लागि काम गरिरहेको भन्ने आरोप स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
