भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नेपाल भारतसँग ३ सय ६ रनले पराजित भएको हो ।

जितको लागि ३ सय ३३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटिएको हो । इनिंसको तेस्रो बलदेखिनै विकेट गुमाउन शुरु गरेको नेपालले सम्हालिएर ब्याटिङ गर्न नसक्दा लज्जास्पद हार स्विकार्न बाध्य भयो । नेपालको लागि पवन सरार्फ र रशिद खानले समान ६/६ रन बनाउँदा प्रतिष जिसीले ४ रन बनाए । यस्तै ललित राजवंशी र नन्दन यादवले समान २/२ रन बनाउँदा नेपालका पाँच ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् ।

लिस्ट ‘ए’ क्रिकेटमा नेपालको यो सबैभन्दा खराब प्रदर्शन हो ।

भारतका हर्षित राना र प्रिन्स यादवले नेपालको ब्याटिङ ध्वस्त पारेका थिए । प्रिन्सले ५ ओभरमा २ मेडन राख्दै ६ रन दिएर पाँच विकेट लिए । यस्तै हर्षित रानाले ६ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ४ विकेट लिँदा शहबाज अहमदले एक विकेट लिए ।

यसअघि दोहाको वेस्ट इन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३२ रन बनाएको थियो । १०.३ ओभरमा ४२-३ को स्थितिमा रहेको भारतलाई कप्तान तिलक बर्मा र कुमार कुशाग्राले दोहोरो सतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका हुन् । तिलक र कुशाग्राले चौथो विकेटको लागि २ सय ६ रनको साझेदारी गरेका हुन् । तिलकलाई रोकेश बमले एक रनमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

इनिंसको ५.१ ओभरमा नन्दन यादवले मयान यादवको हातबाट क्याच आउट गराउँदै अभिषेक शर्मालाई ९ रनमा पभिलियन फर्काएका थिए । यस्तै १०.३ ओभरमा भैभव सुर्यवंशीलाई पवन सरार्फले २६ बलमा बोल्ड आउट गरे । उनले ३२ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै आयुष बाडोनीलाई ललित राजवंशीले २ रनमा आउट गरे । चौथो र पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका तिलक र कुशाग्राले सतक बनाए । कुशाग्राले १ सय २ बल खेल्दै १० चौका र ५ छक्काको मद्दतमा १ सय १७ रन बनाउँदा तिलकले १ सय ७ रन बनाए । उनले १ सय १३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै शुर्यंश शेड्गेले अन्त्यमा १४ बलमा ४ छक्का र एक चौकाको मद्दतमा नटआउट ३६ रन बनाउँदा रिंकु सिंहले ९, शहबाज अहमदले ८ तथा हर्षित राना र प्रिन्स यादवले समान एक/एक विकेट लिए ।

नेपालको लागि ललित राजवंशी र सन्दीप लामिछानेले १० ओभरमा समान ६१/६१ रन दिएर समान तीन/तीन विकेट लिए । यस्तै नन्दन यादवले २ र पवन सरार्फले एक विकेट लिए ।

जितसँगै भारतले दुई अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार युएईको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *