नेपाल प्रहरीमा ५४ हजारभन्दा बढी तल्लो तहका कर्मचारीका गुनासो सुनुवाइ गर्न केन्द्रीय डेस्क स्थापना

काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका प्रहरी कर्मचारीका समस्या, गुनासो तथा विभेदसम्बन्धी विषयको सुनुवाइ र सम्बोधन गर्न ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरेको छ ।

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले शुक्रबार ‘आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’को उद्घाटन गरेका छन् ।

उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारमको लिंक पठाएका थिए । साथै, एक प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी गुनासो सुनेपछि उनले डेस्कको औपचारिक शुभारम्भ गरेका थिए ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको उक्त डेस्कको उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको नेपाल प्रहरीले जनाएको छ ।

उद्घाटनका क्रममा प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीले भोग्दै आएका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा अन्य गुनासाको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा डेस्क सञ्चालन गर्न निर्देशन दिएका छन् ।
उनले डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई कर्मचारीका गुनासालाई गम्भीरतापूर्वक लिई निष्पक्ष ढंगले सुनुवाइ तथा समाधानको प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *