मतदान प्रक्रिया पारदर्शी बनाउन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनको व्यवस्था तथा निर्वाचन आयोगले प्रस्ताव गरेको समयतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग शुक्रबार गरेको छलफलमा आफ्नो धारणा राख्दै प्रचण्डले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् । उनले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनका विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्दै आगामी निर्वाचनलाई थप विश्वसनीय बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

विगतमा केही उम्मेदवारले मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको तथा मतपेटिका ओसारपसारका क्रममा उम्मेदवारका प्रतिनिधिलाई सहभागी हुन नदिएको जस्ता गुनासा उठेको स्मरण गर्दै प्रचण्डले आगामी निर्वाचनमा यस्ता विवाद नआउने गरी प्रक्रिया व्यवस्थित बनाउनुपर्ने बताए।

उनले गएको निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन राजनीतिक दल तथा नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने धारणा राखे ।

निर्वाचनको परिणामसँगै लोकतान्त्रिक संस्थाहरूको विकास र राजनीतिक स्थायित्वका लागि भएका प्रयासलाई पनि महत्त्व दिनुपर्ने उनको भनाइ थियो।

निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने समयतालिका उपयुक्त देखिएको प्रचण्डले बताए। यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययनपछि अन्तिम धारणा बनाउने उनले स्पष्ट पारे।

विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्रचण्डले प्राथमिकताका साथ उठाए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनदेखि नै विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले यसको कार्यान्वयनका लागि प्राविधिक र कानुनी पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको बताए।

निर्वाचन दुई चरणमा गर्ने विषयमा आयोगले प्रस्तुत गरेका सुझाव र प्रस्ताव अध्ययन गरी पार्टीभित्र छलफलपछि निर्णय लिने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *