सर्लाहीमा अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, चार जना पक्राउ

सर्लाही । सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने घटनाबारे गलत सूचना फैलाउने अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनिल कुमार रायलाई कौडेना गाउँपालिका–२ स्थित फुलपरासीबाट अपहरण गरिएको थियो।

बरहथवा नगरपालिका–५ निवासी सन्तोष कुमार महतोसहित ४÷५ जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर रायलाई कुटपिट गर्दै पिकअप गाडीमा राखेर अपहरण गरेको सूचना उनका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा दिएका थिए।

सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा कात्तिक २८ गते बिहान ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरको कोठाभित्र बन्धक बनाइएका रायलाई सकुशल उद्धार गरेको हो। सोही क्रममा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा बरहथवा नगरपालिका–५ का ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो र २५ वर्षीय अमित कुमार महतोलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अपहरणको पछाडि वैदेशिक रोजगारसम्बन्धी विवाद रहेको खुलेको छ। सोही विवादसँग सम्बन्धित रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायलाई अपहरण गरी बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

यसैगरी, घटनालाई अतिरञ्जित बनाउने उद्देश्यले फिरौती रकम बुझाउन जाँदा तीन लाख रुपैयाँ र गरगहना लुटिएको भन्दै गलत सूचना दिने अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *