चिनियाँ कम्युनिस्ट पार्टीको सुशासन र आत्मक्रान्तिबारे नेपाली विज्ञबीच अनलाइन संवाद

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र आत्मक्रान्तिको अभ्यासबारे नेपाली विज्ञहरूले अनलाइन संवाद गरेका छन् ।

चाइना मिडिया ग्रुपअन्तर्गतको सीजीटीएन नेपाली सेवा र साइनो नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजनामा बिहीबार ‘आत्मक्रान्तिको शक्तिः चिनियाँ कम्युनिस्ट पार्टीको कठोर सुशासन र यसको विश्वव्यापी प्रभाव’ विषयक अनलाइन गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेकपा एमालेका विदेश विभाग सदस्य तथा परराष्ट्र मामिला विश्लेषक डा. गोपाल खनाल, नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजाल र नेकपा माओवादीका विधान अधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा पूर्वसभासद् सन्तोष सी (विषम) सहभागी थिए । कार्यक्रममा वक्ताहरूले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले अघि सारेका पार्टी अनुशासन, भ्रष्टाचार नियन्त्रण, आत्मसमीक्षा र सुशासनसम्बन्धी नीतिबारे धारणा राखेका थिए। सीजीटीएन नेपाली सेवाकी प्रमुख लिऊ वन सुमेघाले पार्टीको स्पष्ट नेतृत्व र प्रभावकारी कार्यशैलीले चीनको दीर्घकालीन विकास तथा राष्ट्रिय रणनीतिको निरन्तरतामा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

चिनियाँ कम्युनिस्ट पार्टी छोटो अवधिको उपलब्धिभन्दा दीर्घकालीन विकास र भावी पुस्ताको भविष्यमा केन्द्रित रहेको उनको भनाइ थियो। गोष्ठीमा डा. खनालले वर्तमान विश्वव्यापी अस्थिरताका बीच चीनले विकास र राजनीतिक व्यवस्थाको वैकल्पिक मोडल प्रस्तुत गरेको बताए । पार्टीभित्रको राजनीतिक सुधारले मुलुकको समग्र राजनीतिक प्रणालीलाई सुदृढ बनाउने उल्लेख गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टीको गरिबी निवारण र भ्रष्टाचारविरुद्धको अभियानको चर्चा गरे ।

त्यस्तै, कार्यकारी सम्पादक रिजालले भ्रष्टाचारविरुद्धको कठोर नीति र पार्टीभित्रको सुशासनले चीनको विकासमा योगदान पुर्याएको बताए। चीनले अघि बढाएको भ्रष्टाचार नियन्त्रण अभियान अन्य मुलुकका लागि समेत अध्ययनको विषय बन्न सक्ने उनको धारणा थियो। पूर्वसभासद् सन्तोष सी (विषम) ले विश्व व्यवस्थाको बदलिँदो परिस्थितिमा चीनले समाजवादी व्यवस्थाको नेतृत्व गरिरहेको बताए। चीनको राजनीतिक, वैज्ञानिक तथा प्राविधिक विकासले विश्वमा वैकल्पिक विकास प्रणालीको सम्भावना देखाएको उनको भनाइ थियो ।

उनले गरिबी, शोषण, असमानता र विभेद अन्त्य गर्दै समाजवादको लक्ष्य हासिल गर्न पार्टीभित्र आत्मसमीक्षा, आत्मशुद्धीकरण र कठोर अनुशासन आवश्यक रहेको बताए। चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको आत्मक्रान्तिको अवधारणाले पार्टी र समाजवादी व्यवस्थाको निरन्तरतामा महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

कार्यक्रममा साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सहभागी विज्ञहरूलाई धन्यवाद दिँदै पार्टीको आत्मशुद्धीकरण र सुशासनले चीनको विकास तथा विश्व राजनीतिमा पारेको प्रभावबारे भएको छलफलले नयाँ दृष्टिकोण दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *