एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको हो । चितवन भने बुधबार सम्पन्न इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने चितवन पहिलो पटक फाइनलमा पुग्ने प्रयासमा हुनेछ । लिग चरणमा सुदूरपश्चिम दोस्रो र चितवन चौथो स्थानमा रहेका थिए ।

चितवनले इलिमिनेटरमा काठमाडौंविरुद्ध २०४ रनको विशाल योगफल तयार पारेको थियो । बलिङमा रिजन ढकालले चार विकेट लिँदै काठमाडौंको इनिङ्स ध्वस्त पारेका थिए । रिजन जारी एनपीएलमा १६ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी हुन् । चितवनका लागि रवि बोपाराले सर्वाधिक २३७ रन बनाएका छन् ।

यता, सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २०२ रन बनाएका छन् भने अनिल खरेलले १० विकेट लिएका छन् ।

लिग चरणको भेटमा सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले पराजित गरेको थियो । उक्त जितको लयलाई निरन्तरता दिँदै सुदूरपश्चिम फाइनल पुग्न चाहन्छ । चितवन भने पुरानो हारको बदला लिँदै पहिलो पटक उपाधि भिडन्तमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *