एनभिडिया जासुसी प्रकरणले बढायो अमेरिका–चीन तनाव

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने भेटवार्ताअघि एनभिडियासँग जोडिएको कथित जासुसी प्रकरणले दुई देशबीचको सम्बन्धमा नयाँ तनाव उत्पन्न गरेको छ ।

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग सम्बन्धित जासुसी आरोपले चीनको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसम्बन्धी योजनामा चुनौती थपेको छ । अमेरिकी गुप्तचर निकायका प्रतिवेदनले हुआङसँग सम्बन्ध रहेको भनिएकी चिनियाँ व्यवसायी एलिस हुआङको चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको दाबी गरेका छन् ।

अमेरिकी दाबीअनुसार एलिस हुआङको चीनको मुख्य नागरिक गुप्तचर निकाय मिनिस्ट्री अफ स्टेट सेक्युरिटीसँग सम्बन्ध रहेको आशंका गरिएको छ । यद्यपि, यी आरोप पुष्टि भइसकेका छैनन् । चीनले भने यसलाई आफ्नो देशविरुद्धको दुष्प्रचार भन्दै अस्वीकार गरेको छ ।

यस घटनाले चीनलाई अत्याधुनिक अमेरिकी चिप निर्यात गर्ने विषयमा वासिङ्टनमा नयाँ बहस सिर्जना गरेको छ । एआई, सुपर कम्प्युटिङ र सैन्य प्रविधिका लागि अत्याधुनिक चिप अपरिहार्य भएकाले अमेरिका र चीनबीच लामो समयदेखि प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा हुँदै आएको छ ।

यसैसाता ट्रम्प प्रशासनले मलेसिया, थाइल्यान्ड र ब्राजिलजस्ता तेस्रो मुलुकमा रहेका डेटा सेन्टरमार्फत अमेरिकी अत्याधुनिक चिप प्रयोग गर्ने चिनियाँ कम्पनीमाथि थप निर्यात प्रतिबन्ध लगाएको छ । ती कम्पनीहरूले विदेशमा कम्प्युटिङ क्षमता भाडामा लिएर एआई मोडल विकास गर्दै आएका छन् ।

केही कम्पनीमाथि चिप चीनमा तस्करी गरेको आरोपसमेत लागेको छ । एलिस हुआङ कार्यरत रहेको कम्पनी पनि यस्तो आरोपमा परेको बताइएको छ । तर, सम्बन्धित कम्पनीले आरोप अस्वीकार गरेको छ ।

अमेरिकी डेमोक्र्याटिक नेताहरूले चीनलाई अत्याधुनिक एआई चिप बिक्री गर्ने विषयमा ट्रम्प प्रशासनले पर्याप्त कडाइ नगरेको आरोप लगाएका छन् । डेमोक्र्याट नेता टेड लिउले एनभिडियाप्रति प्रशासनको व्यवहारलाई राष्ट्रिय सुरक्षाका दृष्टिले जोखिमपूर्ण बताएका छन् । अर्की नेता जो लोफग्रेनले पनि चीनलाई एआई चिप बिक्रीमा थप प्रतिबन्ध लगाउन संसद्मा समर्थन बढ्न सक्ने बताएकी छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भने जासुसीसम्बन्धी आरोपलाई चीनविरुद्धको बदनाम गर्ने प्रयास भन्दै खण्डन गरेकी छन् । उनले अमेरिकालाई कथित जासुसीका विषय सिर्जना गरेर चीनमाथि प्रविधिगत नाकाबन्दी लगाउने बहाना नबनाउन आग्रह गरेकी छन् ।

चीनले अमेरिकाको पछिल्लो कदमलाई ‘आर्थिक दबाब’ को संज्ञा दिएको छ । ट्रम्पको चीन भ्रमणको पूर्वसन्ध्यामा आएको यो विवादले दुई राष्ट्रप्रमुखबीचको भेटवार्तामा प्रविधि निर्यात र व्यापार प्रतिबन्ध प्रमुख एजेन्डा बन्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *