-विजयकुमार पाण्डे ।
प्रधानमन्त्री बालेन भारत जाँदैछन् । जबजब नेपाली प्रधानमन्त्री भारत जान्छन्, काठमाडौंका परराष्ट्र ‘विज्ञ’हरूको दुकानमा चहलपहल हुन्छ । भारतले यो दिनुपर्छ, त्यो मान्नुपर्छ, यति छुट दिनुपर्छ, उति सुविधा थप्नुपर्छ । मानौँ, भारत कुनै छिमेकी राष्ट्र होइन, नेपाली प्रधानमन्त्रीको भ्रमणको अवसरमा खुल्ने मनचिन्ते एटिएम हो । नेपालले चाहिँ भारतलाई के दिन सक्छ ? यस विषयमा विज्ञहरूको मुखमा ताल्चा लाग्छ।
बालेनजीलाई लामो भारत सरकारसंग सपिङ लिस्ट बोकेर दिल्ली पठाउनुअघि, भारतसँग हामी वास्तवमा कस्तो सम्बन्ध चाहन्छौँ भन्ने तय गरौँ । चुरो कुरा के हो भने–नेपाललाई मनमनै भारतसँग शक्तिको असमानता (Asymmetry) को चिन्ता छ। अनि भारतलाई आफ्ना सुरक्षा चासो (Security Concerns) को फिक्री छ । दुबै देशका यी चिन्ता वास्तविक हुन वा धेरै हदमा काल्पनिक हुन ? यो बेग्लै विवेचनाको बिषय हो। कुनै दिन, डकुमेन्ट्री बनाउला ।
नेपाल र भारत दुवैलाई थप आर्थिक सहकार्य चाहिएको छ । अनि, हाम्रो शताब्दीयौँ पुरानो सांस्कृतिक, धार्मिक आत्मीयतालाई चाहिँ गैरउत्पादक, नाफा नदिने सामान्य भावना ठानिएको छ। यो जनस्तरमा कायम भावनाहरुको घातक अवमुल्यन हो । यसबाहेक नेपाल–भारत सम्बन्धको थप विकासमा अभाव केको छ ?
समयअनुकूलको ट्रष्ट अर्थात् आपसी विश्वासको । नेपाल–भारत सम्बन्धका बाँकी थोरबहुत जटिलता (वा सहजता) धेरै हदसम्म यही एउटा शब्दका सहउत्पादन हुन् । प्रम बालेन साह दिल्ली जाऊन् । भारतसँग माग्न लामो सपिङ लिस्ट र मन्त्रीहरूको झुन्ड नबोकून् । मोदीजीलाई हिन्दीमा सिधै भनून् ‘मोदी जी, रिश्ते की गहराई इतिहास ने दी है, अब भरोसे की ऊँचाई हमें मिलकर तय करनी है।’ मैथिलीमा भन्दा पनि हुन्छ ।
बालेनले मोदीसँग हिन्दीमा वा मैथिलीमा कुरा गर्दैमा नेपालको सार्वभौमिकता एक इन्च पनि घट्दैन । तर आपसी भरोसाको भाषामा कुरा गर्न सके नेपाल–भारत सम्बन्ध कैयौँ माइल अगाडि बढ्न सक्छ । मलाई विश्वास छ, त्यसपछि मोदीजी पनि एक–दुई वाक्य नेपालीमा जरूर बोल्नेछन् । मित्रहरूबीच भरोसा बढेपछि एकअर्काको सपिङ लिस्ट हरबखत, हरदिन चेक गरिरहनु पर्दैन। सपिङ लिस्ट नबोकेरै पनि, परस्परको इज्जत र सम्मान कायम राखेर, मित्रताको कोशेली आदानप्रदान गर्न पनि त सकिन्छ नि । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको सफलताको कामना गरौं ।
