रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

बीबीसी । रुसको साइबेरिया क्षेत्रमा रुसी सेनाको मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसको रक्षा मन्त्रालयलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार विमान मंगलबार केमेरोभो क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

मन्त्रालयका अनुसार विमान नियमित उडानमा रहेको बेला मानव बस्ती नभएको क्षेत्रमा दुर्घटनामा परेको थियो । प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ । घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

स्थानीय गभर्नर इल्या सेरेदियुकले यागुनोभो गाउँनजिकै दुर्घटना भएको र उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन् । दुर्घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

गभर्नर स्वयं दुर्घटनास्थल पुगेका थिए । उनले उद्धारका लागि हेलिकोप्टर र स्वास्थ्य टोलीलाई तयारी अवस्थामा राखिएको बताएका छन् । अहिले अनुसन्धानमा सहयोग गर्नु मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा आकाशबाट उज्यालो वस्तु खस्दै गरेको र त्यसपछि ठूलो विस्फोटसँगै आकाश उज्यालो भएको देखिन्छ ।

दुर्घटनाग्रस्त विमानमा कुनै सामान वा हतियार लोड गरिएको थियो वा थिएन भन्नेबारे भने तत्काल खुलाइएको छैन । एएन–१२ विमान रुसी सेनाले हतियार तथा सैनिक ओसारपसारका साथै खोज तथा उद्धार अभियानमा समेत प्रयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *