वासिङ्टन । अमेरिकाको अलास्कामा भएको सिनेट निर्वाचनमा डेमोक्रेट उम्मेदवार मेरी पेल्टोला विजयी भएकी छन् । उनले रिपब्लिकन पार्टीका निवर्तमान सिनेटर डान सुलिभानलाई पराजित गरेकी हुन् ।
मंगलबार सम्पन्न निर्वाचनमा पेल्टोलाले ५० प्रतिशत मत प्राप्त गर्दा सुलिभानले ४६ प्रतिशत मत पाएका छन् । अलास्काको ‘¥याङ्क्ड च्वाइस भोटिङ’ प्रणालीअनुसार ५० प्रतिशतभन्दा बढी प्रथम प्राथमिकताका मत प्राप्त गरेपछि पेल्टोला विजयी भएकी हुन् ।
उनको जितसँगै मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले रिपब्लिकनका नौ सिट खोसेको छ । यससँगै अमेरिकी सिनेटमा डेमोक्र्याटको बहुमत ५६ सिट पुगेको छ भने रिपब्लिकनको सिट संख्या ४४ मा सीमित भएको छ ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा अलास्कामा डोनाल्ड ट्रम्पले १३ प्रतिशत मतान्तरले जितेका थिए । तर, जीवनयापनको बढ्दो खर्चप्रति मतदाताको असन्तुष्टि र राज्यको स्वतन्त्र राजनीतिक प्रवृत्तिका कारण यसपटक डेमोक्र्याटले जित निकालेका हुन् ।
विजयपछि पेल्टोलाले अलास्काका मतदातालाई धन्यवाद दिँदै कर्पोरेट स्वार्थविरुद्ध लड्ने, महँगी घटाउने र राज्यको हितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यस निर्वाचनमा स्वतन्त्र उम्मेदवार डान जे सुलिभान जुनियरको उम्मेदवारीलाई लिएर विवादसमेत भएको थियो । रिपब्लिकनहरूले निवर्तमान सिनेटरका मतदातालाई झुक्याउने उद्देश्यले उनको नामसँग मिल्ने उम्मेदवारलाई चुनावमा उतारिएको आरोप लगाएका थिए । तर, अलास्काको सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्न गरिएको माग अस्वीकार गरेको थियो ।
द न्यूयोर्क टाइम्स ले पेल्टोलाको चुनावी अभियानले स्वतन्त्र उम्मेदवार सुलिभान जुनियरलाई उम्मेदवारी दिन सहयोग गरेको समाचार प्रकाशित गरेपछि विवाद थप चर्किएको थियो । पेल्टोलाको चुनावी अभियानले भने उक्त आरोप अस्वीकार गरेको छ ।
यस प्रकरणमा रिपब्लिकन गभर्नर माइक डनलिभीले राज्यस्तरीय अनुसन्धानको आदेश दिएका छन् भने अमेरिकी न्याय मन्त्रालयले पनि सम्भावित अनियमितताबारे आपराधिक अनुसन्धान सुरु गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता टोड ब्लान्चेले कथित उम्मेदवार भर्ती प्रयासलाई ‘ठगी’ को संज्ञा दिएका छन् ।
