काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने खेलमा काठमाडौं गोर्खास र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिम रोयल्स मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्विनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।
त्यसैले आज दुवै टोली जित निकाल्दै फाइनलको यात्रा जीवित राख्न चाहन्छन् । काठमाडौं जारी लिगको ७ खेलबाट ४ जित र ३ हारको नतिजासहित ८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुग्दा चितवनले समान खेलबाट ३ जित र ३ हारको नतिजासहित ७ अंक जोडेर चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाएको थियो । चितवनले लुम्बिनीसँगको खेल वर्षाले प्रभावित बनेपछि अंक बाढेको थियो ।
तीन संस्करणसम्म आइपुग्दा चितवन र काठमाडौँले तीन खेल खेलेका छन् । जसमा काठमाडौंले दुई खेल जित्दा चितवनले एक खेल जितेको छ । लिगचरणको खेलमापनि काठमाडौंले चितवनलाई १० रनले हराएको थियो । चितवनलाई आज उक्त खेलको बदला लिने अवसर रहेको छ ।
