स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मंगलबार ललितपुरको नख्खु दोबाटो चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर रोकेर खानतलासी गर्दा १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद भएको थियो ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३१ वर्षीय दीपक खड्का, ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट, महेन्द्र कम्पनीको मिनी कन्टेनर र विभिन्न कम्पनीका तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *